एएफसी एसियन कप २०२६ को छनोटमा नेपालकाे लगातार दोस्रो जित हात

असार १८, २०८२ |खेल ब्युरो
एएफसी एसियन कप २०२६ को छनोटमा नेपालकाे लगातार दोस्रो जित हात

काठमाडौं । नेपालले एएफसी एसियन कप २०२६ को छनोटमा लगातार दोस्रो जित हात पारेको छ। 

उज्जवेकिस्तानमा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गर्‍यो। जारी छनोटमा लगातार दोस्रो खेलमा पनि हृयाटि्रक गरेकी छन्। यससँगै उनले नेपाली टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई अघि बढाएकी छन्।

खेलको सातौँ मिनेटमा नेपालले अग्रता बनायो। अनिता बस्नेतको कर्नरमा दोस्रो बार नजिकै रहेकी गीता रानाले हेडरमार्फत नेपाललाई ब्रेकथ्रु दिलाइन्। लगातार आक्रमण बनाएको नेपालले खेलको २०औँ मिनेमा दोस्रो गोल थप्यो। 

ओपन प्लेमा अनिताको क्रसमा कप्तान सावित्रा भण्डारीले ६ यार्ड बक्सको एजबाट गोल गरिन्। यसअघि श्रीलंकन गोलकिपर र डिफेन्डरले क्लियरको असफल प्रयास गरेका थिए। त्यसपछि सावित्रा भण्डारीले फ्रि किकमा सिधै गोल गरे पनि रेफ्रिले सो गोल अफसाइड करार गरिदिएकी थिइन्। 

नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो। ४२औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन्। प्रिति राईले निकालेको बलमा अनिताले पास मिलाएपछि सावित्राले गोल गरेकी हुन्। पहिलो हाफको इन्ज्युरी समयमा सविताको क्रसमा हेडर गर्दै सावित्राले हृयाट्रिक पूरा गरिन्। उनले राष्ट्रिय टिमबाट ६४ गोल पूरा गरेकी छन्।

दोस्रो हाफमा पनि नेपालले आक्रामक लयलाई कायम राख्यो। ५२औँ मिनेटमा रश्मीकुमारी घिसिङलाई श्रीलंकन डिफेन्डरले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो। पेनाल्टीमा गीताले गोल गरिन्। 

त्यसैगरी, ६२औँ मिनेटमा अनिताको कर्नरमा निशाले नेपालको अग्रता ६-० मा पुर्‍याइन्। नेपाली टिमबाट निशाको यो पहिलो गोलसमेत हो। प्रशिक्षक प्याट्रिक डे वाइल्डले त्यसपछि अनिता र निशालाई सब्स्टिच्युट गरे । 

यी दुई खेलाडीलाई पूजा राना र रेखा पौडेलले प्रतिस्थापन गरेका थिए। ७७औँ मिनेटमा पूजाको अग्लो पासमा रेखाले गोल गरेर अग्रता ७-० मा पुर्‍याइन्। पूजा रानाले खेलको निर्धारित समयमा दुई मिनेट बाँकी रहँदा गोल गर्दै खेललाई ८-० मा समाप्त गरिन्। 

आजको जितसँगै नेपालले दुई खेलबाट ६ अंक बनाएको छ। श्रीलंका अंकविहीन छ। अघिल्लो खेलमा श्रीलंका उज्वेकिस्तानसँग १०-० ले पराजित भएको थियो। समूहमा उज्वेकिस्तान र लाओसबीचको खेल केही बेरमा सुरू हुनेछ।