एसियाली खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खेल दर्ता रद्द

असार १८, २०८२ |खेल ब्युरो
एसियाली खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खेल दर्ता रद्द

काठमाडौं । एसियाली खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खेल दर्ता आयोजकले रद्द गरेको छ । नेपालको सहभागितालाई लिएर अन्योल र संस्थागत आरोप-प्रत्यारोपबीच बुधबार आयोजक आइची-नागोया २०२६ ले पत्र पठाउँदै नेपाल ओलम्पिक कमिटीले गरेको दर्तालाई मान्यता दिने बताएको हो ।

आयोजक समितिका उपमहानिर्देशक तोरु कोयाबासीले बुधवार ओलम्पिक कमिटी र मन्त्रालयलाई पत्रमार्फत् आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । उनले पठाएको पत्रअनुसार एसियाडमा सहभागी हुन खेल प्रविष्टि गर्ने अधिकार केवल नेपाल ओलम्पिक कमिटी–एनओसीलाई मात्र छ ।

एनओसी बाहेक व्यक्तिगत रूपमा वा अन्य कुनै निकायबाट आउने अनुरोध ओलम्पिकले अस्वीकार गर्ने पत्रमा उल्लेख छ । एसियाडमा सहभागिता सुनिश्चित गर्न सबै प्रक्रिया औपचारिक निकाय एनओसीमार्फत् अघि बढिसकेको पनि पत्रमा उल्लेख छ । ओलम्पिक कमिटीले गत १६ गते नेपालबाट १६ खेल दर्ता गरेको जानकारी दिएको थियो । त्यसपछि मङ्गलवार नै युवा तथा खेलकुद मन्त्रालयले पनि विज्ञप्ति जारी गरी ओलम्पिकको पत्राचारलाई सरकारले मान्यता नदिने भन्दै आफै ३१ खेल दर्ता गरेको बताएको थियो ।

यसअघि सोमबार, जुन ३० मा खेल दर्ताको अन्तिम समयसीमा सकिएको थियो । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् राखेपले ओलम्पिकको गत पुसमा भएको निर्वाचलाई मान्यता नदिएपछि सरकारी निकायले ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै आएको छ । त्यसपछि संघले आफै ओलम्पिकलाई पत्र लेखेर दर्ता गरेका थिए । तर, एसियाली खेलकुदमा अहिलेसम्म दुई रजत पदक जितेको तेक्वान्दो भने दर्ता भएको छैन ।