काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हाल भारत निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ ।
हसिनासँगै उहाँको दल अवामी लिगको छात्र संगठन छत्र लिगका नेता शाकिल आकन्द बुलबुललाई पनि सोही अभियोगमा दुई महिनाको जेल सजाय तोकेको छ ।
विद्यार्थी आन्दोलन चर्किएपछि देश छाडेको ११ महिनापछि हसिनालाई पहिलोपटक कुनै अभियोगमा दोषी ठहर गरिएको हो । हसिना र छत्र लीग नेता शाकिलबीच भएको भनिएको टेलिफोन संवादको विषयलाई लिएर अदालतमा अवहेलनाको मुद्दा दर्ता गरिएको थियो ।
टेलिफोन वार्तामा हसिनाले आफूविरूद्ध अदालतमा दुई सय २७ वटा मुद्दा भएकाले आफूलाई त्यति नै मान्छे मार्ने लाइसेन्स भएको बताएको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हालसम्म हसिनाविरूद्ध तीन वटा पक्राउ पुर्जी जारी गरेको छ । तीमध्ये एक गत वर्षको विद्यार्थी आन्दोलनमाथिको दमनमा उहाँको भूमिकासँग सम्बन्धित छ ।
उक्त मुद्दामा हसिनामाथि मानवताविरूद्धको पाँचवटा अभियोग लगाइएका छन् । सो मुद्दामा पूर्वगृहमन्त्री असदुज जमान खानलाई पनि अभियुक्त बनाइएको छ ।