युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो पर्व यूएफा महिला युरो-२०२५ आजदेखि सुरू हुँदै

असार १८, २०८२ |खेल ब्युरो
युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो पर्व यूएफा महिला युरो-२०२५ आजदेखि सुरू हुँदै

काठमाडौं । युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो पर्व यूएफा महिला युरो २०२५ बुधबारदेखि सुरू हुँदै छ । 

युरोपका शीर्ष १६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जुलाई २७ तारिखमा हुनेछ । आयोजक राष्ट्रले प्रतियोगिता उद्घाटन गर्ने चलन रहँदै आएकोमा यसपटक भने आइसल्यान्ड र फिनल्यान्डबीचको प्रतिस्पर्धाबाट प्रतियोगिता सुरू हुनेछ । 

आजै राति आयोजक स्विट्जरल्याण्डले नर्वेसँग खेल्नेछ । समिट अफ इमोसन्सको नारासहित आयोजना हुन लागेको प्रतियोगिताले समानता, दिगोपन र सामाजिक परिवर्तनको सन्देश बोकेको छ ।

युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा महिला युरो २०२५ आजदेखि स्विट्जरल्याण्डमा सुरू हुँदैछ । यो प्रतियोगिता स्विट्जरल्याण्डले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो महिला खेलकुद कार्यक्रम हो ।

प्रतियोगितामा १६ टोली सहभागी छन् । जसलाई चार समूहमा बाँडिएको छ । समूह एमा आयोजक स्विट्जरल्याण्डसहित नर्वे, आइसल्याण्ड र फिनल्यान्ड छन् । समूह बीमा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली रहादा समूह सीमा जर्मनी, पोल्याण्ड, डेनमार्क र स्विडेन छन् । समूह डीमा फ्रान्स, इंग्ल्याण्ड, वेल्स र नेदरल्यान्ड्स छन् ।

स्पेन र जर्मनीले छनोट चरणमा एक-एक खेलमात्र हारेर सबैभन्दा पहिले प्रतियोगितामा स्थान सुरक्षित गरेका थिए । फ्रान्स, स्विडेन र पोल्याण्ड पनि सन् २०२५ मा अपराजित रहादै आत्मविश्वासका साथ मैदान उत्रनेछन् ।

इंग्ल्याण्डको लय भने उतारचढावपूर्ण देखिएको छ । यस महिनाको सुरुमा पोर्चुगलविरूद्ध ६-० को जित हात पारे पनि स्पेन र बेल्जियमसँग हार बेहोरेको थियो । वेल्सले २०२५ मा अहिलेसम्म कुनै जित निकाल्न सकेको छैन् ।

महिला युरो २०२५ स्विट्जरल्याण्डका ८ विभिन्न सहरमा आयोजना हुनेछन् । प्रतियोगिताको टिकट बिक्री २०२४ को अक्टोबरदेखि सुरू भएको थियो ।

हालसम्म प्रतियोगिताका लागि कुल ६ लाख ७३ मध्य ५ लाख ७० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन् । सबैभन्दा धेरै टिकट स्विट्जरल्याण्ड, जर्मनी र इंग्ल्याण्डका दर्शकहरूले किनेका छन् । सन् २०२२ को युरोले ५ लाख ७४ हजार ८ सय ७५ दर्शकसहित रेकर्ड राखेको थियो । यस पटक उक्त कीर्तिमान टुट्ने अपेक्षा गरिएको छ ।

यस युरोको आधिकारिक मस्कटमा म्याड्ली नामक सेन्ट बर्नार्ड जातको कुकुर प्रयोग गरिएको छ । मस्कट स्विट्जरल्याण्डकी पहिलो महिला लाइसेन्स प्राप्त फुटबल खेलाडी मेडलिन बोलको नामबाट राखिएको हो । 

आयोजक र यूएफाले प्रतियोगितालाई "हरित, समावेशी र उत्तरदायी" बनाउने लक्ष्य लिएका छन् । आयोजकले सर्कुलर इकोनोमीको सिद्धान्तलाई आत्मसात गर्दै रिडीयूस, रीयुज, र रिकभर मा आधारित व्यवस्थापन गरेको छ ।

समिट अफ इमोसन नारा दिइएको प्रतियोगिताले मानव अधिकार, लैङ्गकि समानता र सामाजिक समावेशिताजस्ता विषयमा विशेष प्राथमिकता दिने बताएको छ । यो नाराले स्विट्जरल्याण्डको हिमाली उचाइ र फुटबलको भावना दुवैलाई जोड्ने प्रयास गरेको छ ।