जुम्ला । जुम्लास्थित बागवानी अनुसन्धान केन्द्र राजिकोटमा दरबन्दीअनुसार कर्मचारी नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको छैन् । २०२४ सालमा स्थापना भएको केन्द्र कर्मचारी अभावबाट गुज्रिरहेको छ ।
बागवानीजन्य बाली अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना तयार गरी किसानलाई सिफारीस गर्ने उद्देश्यले जुम्लाको राजिकोटको बागवानी अनुसन्धान केन्द्र स्थापना भएको थियो । तर अहिले न दरबन्दीअनुसारका कर्मचारी छन्, न त प्रभावकारी अनुसन्धाननै गर्न सकेको छ ।
केन्द्रले नयाँ जातको बीउ अनुसन्धान गर्न वर्षौं लगाइरहँदा किसानहरू नाम मात्रको अनुसन्धान केन्द्र भएको आरोप लगाउँछन् । यो केन्द्रले कर्णालीको उच्च पहाडमा हुने बागवानी कृषिवस्तुको अध्ययन अनुसन्धान गर्छ ।
केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ । तर हाल राजकुमार गिरी अनुसन्धानका एक्ला वैज्ञानिक हुनुहुन्छ । प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तर तीनै जना छैनन् ।
पटकपटक दरबन्दीअनुसारको जनशक्ति पठाइदिनको लागि आग्रह पनि भइरहेको छ । तर केही कर्मचारीहरू दुर्गम भनेर आउन मानिरहेका छैनन् । आएका कर्मचारीहरु पनि मन लागेर काम गरिरहेका छैनन् । त्यसैले अनुसन्धान कार्य निराशाजनक छ ।
केन्द्रका अनुसार हालसम्म राजिकोट १ र राजिकोट २ जातको लसुन किसानस्तरमा सिफारिस भएको छ । स्टार्क क्रिप्सन, ब्राइज्ड एनअर्ली, स्टार्क स्पर गोल्ड गरेर तीन जातको स्याउ सिफारिस भएको छ ।
टप रेड र रेड स्पर जातको स्याउ सिफारिसका लागि राष्ट्रिय बीउ-बिजन तथा गुण नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरमा पठाइएको छ । केन्द्रले ओखर खेतीमा कलमी प्रविधि विकास गरेको छ । बिरूवा जिल्ला दररेटअनुसार ५ सय रूपैयाँमा बिक्रि भइरहेको छ ।
राजिकोटका अनुसन्धान केन्द्र स्थापना हुँदा कर्णालीका किसानहरू निकै उत्साहित थिए । बागवानीमा देखिएका समस्या समाधान चाँडै होला र नयाँ जातका बिरूवामा पहुँच बढेर आम्दानीको राम्रो स्रोत बन्ला भन्ने आशा राखेका किसान निराश छन् ।