संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरूद्धको मुद्दामा संवैधानिक इजलासका न्यायाधीशहरूको छलफल सकियो

साढे चार वर्षदेखि विचाराधीन रिटको फैसला सुनाउने तयारी
असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरूद्धको मुद्दामा संवैधानिक इजलासका न्यायाधीशहरूको छलफल सकियो

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धको मुद्दामा बुधबार फैसला सुनाउने अन्तिम तयारी गरेको छ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति संविधानका दृष्टिले ठीक कि बेठिक भन्ने फैसला सुनाउन प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरूबीच अन्तिम गृहकार्य भैरहेको हो ।

आज बिहान ११ बजेदेखि न्यायाधीशहरू छलफलमा जुटेपछि अहिले केहीबेरमा फैसला सुनाउने तयारी भैरहेको छ । दिनभरको छलफलपछि केहीबेर अघि मात्र संवैधानिक इजलासको ढोका खोलिएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा बहस भएपछि गत जेठ २८ गते नै आजका लागि निर्णय सुनाउने पेसी तोकिएको थियो ।

जेठ एक गते बहस सकिएपछि जेठ २८ मा नियुक्तिबारे निर्णय सुनाउने तोकिए पनि न्यायाधीशहरूबीच पर्याप्त छलफल हुन नसक्दा निर्णय सुनाउने मिति सरेको थियो ।

अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको थियो । उक्त नियुक्ति विरूद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले आदेश दिएको हो।

तत्काली प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो । जसमा संवैधानिक पदमा नियुक्ति गर्दा संवैधानिक परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने कानुनी व्यवस्थालाई संशोधन गरेर अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने प्रावधान राखिएको थियो । 

अध्यादेश जारीपछि संवैधानिक परिषद् अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, सदस्यहरू तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक गरेर संवैधानिक आयोगमा ५२ पदाधिकारी सिफारिस गरेका थिए । त्यति बेला तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित थिए।

ऐन संसोधन संविधान विपरित रहेको दाबीसहित उक्त नियुक्तिविरूद्ध ७७ साल पुस एक देखि ७९ साल साउन १० गतेसम्म १५ वटा रिट परेका थिए । रिटको सुनुवाइ नगरी लामो समयसम्म अल्झाएर राखेको भन्दै प्रश्न उठेको थियो । अन्तत: झण्डै साढे चार वर्षपछि रिटको फैसला आज भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.