बाँके । बाँकेको दक्षिण सीमावर्ती डडुवा गाउँपालिकाको भंगोटना र हिरमिनियासहित ३ वटा गाँउमा सुत्ला लाग्ने बेलाको मकैमा फौजी किराको प्रकोप देखापरेको छ । मकै उम्रेदेखि नै फौजी किराले सखाप पार्दै आएको किसानहरूले बताएका छन् ।
फौजी किराको आक्रमणबाट केही खेतमा मकैको बोट सुक्दै गएको छ । हिरमिनियाको फाँटमा किराको आक्रमणले मकै सुकेपछि लगानी समेत गुम्ने चिन्ताले किसान पिरोलिएका छन् । किराले ४० देखि ५० प्रतिशत मकैबाली नष्ट पारिसकेको बताएका छन् ।
“मकै जब उम्रन थाल्छ, एक दुई पोत हुनसाथ किरा देखापर्छ । मकैको घोगा लाग्न थालेपछि चुस्छ । त्यसपछि डाँठ खान थाल्छ”, किसान रामप्रघट यादवले बताउनुभयो ।
कृषि पकेट क्षेत्र मानिने हिरमिनियामा बारम्बार फौजी किराको प्रकोप देखिँदै आए पनि यसको कारण खोजेर निदान गर्ने बारेमा कसैले चासो नदिएको किसानहरूले बताएका छन् ।