काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालीन एमाले विभाजन गर्न भूमिका खेलेको आरोप लगाउनुभएको छ । आइतबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरिखान नदिन विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गर्नुभयो ।
उहाँले क्रान्तिको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाउनुभयो । उहाँले माओवादीले युद्धकालमा फालेका बम पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा क्रान्ति भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातीमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए । तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे । लुकाएर हिँडे । अहिले पनि तिनको असर ठाउँ ठाउँमा परिरहेको छ । अहिले पनि बेवारिसे छोडेका बमहरूका कारण बच्चाबच्चीको निधन भइरहेको छ ।”
प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्त्वहरू वास्तवमा कम्युनिस्ट र वामपन्थी नभएको तर्क समेत गर्नुभयो । “विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौं त्यही ठाउँमा पुर्याएको भए । नेकपा (एमाले) अहिले पनि प्रमुख शक्तिको रूपमा आएको छ भने, सिध्यायौं एमालेलाई भन्दा फेरि सरकारको नेतृत्व गरिरहेको छ भने त्यो एमाले अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरूले कुनै पनि हालतमा अभिवाजित पार्टी रहन नदिने र नेपाललाई गरिखान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरूले त्यस्ता कामहरू गरे ।”