काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा २ दशकभन्दा बढी समय राज गरेका राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा फर्किएका छन्, चलचित्र नरसिंहा : अवतार मार्फत । शुक्रबारदेखि हलमा लागेको यो चलचित्र हेर्न हमालका प्रशंसकहरू उत्साहका साथ हलमा पुगिरहेका छन् ।
यति मात्र नभई आफ्नो पुनरागमनप्रति आफैं उत्साही बनेका हमाल चलचित्र हलहरूमा पुगेर दर्शकको प्रतिक्रिया लिन व्यस्त छन् ।
एक समय थियो, राजेश हमालको उपस्थितिले मात्र चलचित्र हिट हुन्थे । एक किसिमले, निर्माताको लगानी सुरक्षित गर्ने र निर्देशकको करिअर चम्काउने सूत्रधार मानिनुहुन्थ्यो हमाल । तर सकुन्तलामा अभिनय गरेपछि हमाल एकाएक सिनेमाको रंगीन दुनियाँबाट हराउनुभयो ।
महानायकको पदवी भिरेर फाट्टफुट्ट म्युजिक भिडिओमा देखिनेबाहेक ठूलो पर्दाबाट हराएका हमाल आठ वर्षपछि चलचित्रमा फर्किनुभयो, चलचित्र नरसिंहा : अवतार मार्फत ।
हुन त यो अवधिमा उहाँलाई चलचित्रमा अभिनयको प्रस्ताव नआएको होइन । तर हमाललाई चित्तबुझ्दो र सुहाउँदो लागेन । यस पटक भने कथा मन परेपछि दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको नरसिंहा : अवतारमा अनुबन्धित हुनुभयो । यो चलचित्र शुक्रबारबाट हलमा चलिरहेको छ ।
सन् १९८५ मा सुरु गरेको मोडलिङ करिअर हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राजेश हमालले २ दशकभन्दा लामो समय राज गर्नुभयो । संवाद शैलीकै कारण पनि नेपाली दर्शकमाझ लोकप्रिय हमालको ८ वर्षपछिको पुनरागमन चलचित्र भएकाले पनि नरसिंहा : अवतार प्रशसंकका लागि उत्साहको मसला बन्यो ।
फिल्म नरसिंहा : अवतारलाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रणका रूपमा प्रस्तुत गरिएको छ । केहीअघि सार्वजनिक ट्रेलरमा राजेश हमालको पुरानै अवतार र संवाद शैली देखिन्छ जसले हमालको स्वाद पर्खिएकाहरूलाई फेरि एक पटक सिनेमा हलसम्म पुर्याएको छ ।
रिलिजको पहिलो दिन यो फिल्मले देशव्यापी १३३ शो पाएको थियो । सिंगल तथा मल्टिप्लेक्स हलहरूमा दर्शकको उपस्थिति लोभलाग्दो नै छ । चलचित्रले राम्रै प्रतिक्रिया पाएपछि हमाल आफैं उत्साहित हुनुहुन्छ ।
लाग्छ, राजेश हमालको उपस्थितले निर्माताको लगानी सुरक्षित हुने पुरानो फर्मुलाको युग अझै सकिएको छैन । नरसिंहा : अवतारका निर्माताहरू पनि यस्तै आशामा छन् ।