कोशी प्रदेशसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जेष्ठ ११, २०८२ |महाप्रसाद खतिवडा
कोशी प्रदेशसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम पारित

मोरङ । कोशी प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेशसभाले पारित गरेको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

गत जेठ ५ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा ४६ जना प्रदेशसभा सदस्यहरूले आफ्नो भनाइ राखेका थिए । 

प्रदेशसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले ल्याएको नीति तथा कार्यक्रम सत्तापक्ष र प्रतिपक्ष प्रदेशसभा सदस्यहरूसँग छलफल गरी सबैलाई समेटेर ल्याएको जानकारी दिनुभयो । 

आमनागरिकका प्रतिवद्धतालाई नीति तथा कार्यक्रमले समेटेको भन्दै मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रममा कुनै कुरा नछुटेको दाबी गर्नुभयो । 

राजश्वको दायरालाई फराकिलो बनाउने र बेरुजु फर्छ्यौटलाई तीव्रता दिएको भन्दै मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रमले प्रदेशको दिगो विकासलाई जोड दिएको बताउनु भयो ।

चतरादेखि चौंरीखर्कसम्मको रेलमार्ग, केचनाकबलदेखि सगरमाथासम्मको द्रुत मार्ग, लेउती–लेगुवा सुरुङ मार्ग आवश्यकता बोध भएर नीति तथा कार्यक्रममा ल्याएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

नीति तथा कार्यक्रम पारित हुनुअघि नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा र नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले “कोशी प्रदेशको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता २०८२” आजै प्रदेशसभामा पेस गर्नुभएको छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।