विद्यालय शिक्षा विधेयक : शिक्षकहरूसँग भएको सहमति समेट्न सुझाव

जेष्ठ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्यालय शिक्षा विधेयक : शिक्षकहरूसँग भएको सहमति समेट्न सुझाव

काठमाडौं । सांसदहरूले शिक्षकहरूसँग भएको सहमतिलाई समेट्दै सबैको अपनत्व हुने गरी विद्यालय शिक्षा विधेयक पारित गर्न जोड दिएका छन् । संघीय संसद्को शिक्षा समितिमा उपसमितिले बुझाएको शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै सांसदहरूले सरोकारवाला पक्षसँग थप छलफल गरेर विधेयकलाई अन्तिम रूप दिनुपर्ने सुझाव दिएका छन् । 

सांसदहरूले विद्यालय शिक्षा सुधारका लागि अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीका साथै छात्रवृत्ति, मानवीय पूर्वाधार लगायतका विषय स्पष्ट गरेर मात्र अघि बढ्नुपर्ने बताए ।

यस्तै, सांसदहरूले बाल विकास केन्द्रलाई विद्यालय संरचनाभित्र ल्याई सहजकर्ताको स्थायित्व, निजी विद्यालय सेवामूलक हुनुपर्ने लगायतमा सरकारको स्पष्ट धारणा आएपछि मात्र विधेयकलाई अन्तिम रूप दिनुपर्नेमा जोड दिएका छन् । शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण र परीक्षा बोर्डलाई स्वायत निकायको रूपमा कानुनी व्यवस्था गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

शिक्षा समितिका सभापति अमरबहादुर थापाले शिक्षा विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेकाले बजेटले धान्न नसक्ने तर्क नगर्न शिक्षामन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

मन्त्री रघुजी पन्तले भने राजनीतिक तहमा सहमति खोजेर विधेयक अघि बढाइने जानकारी दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.