नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासी खण्डमा पुराना पुल जीर्ण भएको र दुई वटा पुल भासिएर मर्मतको काम भइरहकाले मालवाहक सवारी सञ्चालनमा रोक लगाउन सडक विभागलाई सडक आयोजनाले पत्राचार गरेको छ ।
बुटवल-नारायणगढ सडक विस्तारको क्रममा दाउन्ने खण्डमा काम भइरहेको र अन्य क्षेत्रमा पनि पुल निर्माणको काम चलिरहेको छ । पछिल्लो समय यो खण्डमा दुई वटा पुल भासिएकाले वर्षामा अरू पुलमा पनि क्षति पुगेमा यातायात सञ्चालन असहज हुने भन्दै आयोजनाले विभागमा पत्राचार गरेको हो ।
नयाँ पुल निमार्णको काम धमाधम भइरहेको र पुराना पुलमा बर्खामा क्षति नपुगोस् भनेर केही समयको लागि यो सडक भएर चल्ने मालवाहक सवारीलाई वीरगन्ज नाका प्रयोग गर्न आग्रह गरिएको सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।