कोप्लाङमा सडक भासिँदा तातोपानी नाका २० दिनदेखि ठप्प

जेष्ठ ७, २०८२ |कमला पाख्रिन
कोप्लाङमा सडक भासिँदा तातोपानी नाका २० दिनदेखि ठप्प

सिन्धुपाल्चोक । कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासिएपछि २० दिनदेखि तातोपानी नाका पूर्ण रूपमा ठप्प छ । जसका कारण नेपाली व्यवसायीले चीनबाट आयात गरिएका फलफूल, रेडिमेड कपडा, जुत्ता, खुद्रा सामान, निर्माण जन्य सामाग्रीहरू र भन्सार जाँचपासका लागि भन्सार परिसरमा ११ सय ६ र कोप्लाङदेखि मितेरीपुलसम्म करिब एक सयको संख्यामा विद्युतीय सवारीसाधनको लाइन अलपत्र अवस्थामा रहेका छन् ।

गत वैशाख १८ गतेकोे वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा १५ फिट सडक भासियो । तत्काल माटोले भरेर सडक मर्मत गर्ने प्रयास गरिएको थियो, तर फेरि पानीले माटो बगाएपछि व्यवसायीको सामान बोकेर आएका कन्टेनर चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर लिपिङमा रोकिएका छन् । यत्रो लामो समयसम्म अन्तर्राष्ट्रिय राजमार्ग बन्द भएकोमा व्यवसायी मारमा परेका छन् ।

सडकको दुरावस्था र सडक विभागले चाडो काम नगर्दा व्यवसायीले दुःख खेप्नु परेको व्यवसायीहरूको गुनासो छ ।

यद्यपि सडक डिभिजन कार्यालय चरिकोटले भासिएको सडकमुनि भोटेकोशी नदीबाट प्लम ढलानको काम गरिरहेको छ । साँघुरो सडक र वर्षा हुनासाथ बग्ने जमिन भएकाले निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गत असारदेखि पटक पटक नाका बन्द हुँदा तातोपानी नाकाले अर्बौं राजस्व गुमाइरहेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब ८३ करोड १९ लाख लक्ष्य राखेकोका सडकका कारण १४ अर्ब ८७ करोड मात्र राजस्व संकलन भएको छ । सडककै कारण राजस्व वृद्धि हुन नसकेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएपछि व्यवसायीले भन्सार र प्रहरीको निगरानीमा स्याउ सुन्तला र अन्य कुहिने सामान भरियामार्फत बोकेर ल्याउनुपर्दा खर्च र दुःख धेरे भोग्नु परेको व्यवसायीको दुखेसो छ । प्राकृतिक विपत्तिका कारण बर्सेनि दुःख भोगरिहेको व्यवसायीको सरकारले वैकल्पिक सडक निर्माण, स्थायी संरचना तथा चीनसँग उच्चस्तरीय समन्वय गर्नुपर्ने माग गरिरहेका छन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।