काठमाडौं । छिमेकी मुलुक भारत, सिंगापुर र थाइल्यान्डसहितका मुलुकमा कोभिड संक्रमण देखिएसँगै नेपालले पनि सावधानी बढाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती देशहरूमा संक्रमण बढेसँगै विमानस्थलको हेल्थ डेस्क र नाकाहरूमा स्क्रिनिङमा थप चनाखो भएर परीक्षण गर्न निर्देशन दिइएको छ ।
नेपालमा हालै एक जनामा कोभिड देखिएको, तर बिरामीको अवस्था सामान्य महाशाखाले जनाएको छ ।
“अहिले हामीले सतर्क हुन सबैतिर भनेका छौं । किनभने हाम्रो धेरै केसहरू देखिएको छैन । रिपोर्टेड त एउटा केस मात्र छ, हालसम्मलाई । तर अब हामी अरू हिसाबले सतर्क हुनपर्छ, सबै जना सतर्क हुन जरुरी छ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले बताउनुभयो ।
चिकित्सकहरू नआत्तिन तथा सतर्कता अपनाउन आग्रह गरेका छन् । त्यसमाथि छिमेकी मुलुकमा संक्रमण देखिएकाले सरकारले चनाखो भएर ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।
“यति बेला भारत लगायत जुन दक्षिणपूर्वी देशहरूमा देखिरहेको अवस्था छ, त्यसलाई बेवास्ता गर्न हुँदैन । पहिले बच्ने जुन उपायहरू अवलम्बन गर्दै आइरहेका थियौं त्यसलाई फेरि हामीले विशेष ध्यान दिनुपर्ने म देख्छु”, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
अहिले भारतमा कोभिडका २५७ नयाँ संक्रमित देखिएका छन् भने सिंगापुर र हङकङमा पनि संक्रमितहरू देखापरेका छन् । नेपालमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको थियो भने १२ हजारभन्दा बढीको मृत्यु भएको थियो ।