मकवानपुर । गत असोज १२ गतेको बाढीले कुलेखानी र सिस्नेरी सडक खण्डमा पक्की पुलसहित केही स्थानमा बाटो नै बगाएपछि अहिले हेटौंडा-कुलेखानी-सिस्नेरी-काठमाडौ सडकको यात्रा कष्टकर छ । तर, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यो बर्खाअघि नै सडक कालोपत्रे बनाइसकेर यात्रा सहज बनाउन लागिपरेको छ ।
कुलेखानी हुमानेभञ्याङ सडक खण्डको १२ दशमलव ६ किलोमिटर सडक कालोपत्रे अबको १५ दिनभित्रै सक्न भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कम्पनी पीआर इन्फास्ट्रकचरलाई ताकेता गरिरहेको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के काठमाडौंदेखि हेटौंडा जोड्ने यो सडकखण्डमा बर्खा लाग्नुअघि नै कालोपत्रे गर्ने काम सक्ने बताउनु हुन्छ ।
४० करोड ७२ लाख रुपैयाँको लागतमा पीआर इन्फास्ट्रकचरले यो सडक निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी भन्नुहुन्छ, 'असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि समयअगावै काम सक्न मन्त्रालय र पूर्वाधार विकास कार्यालयले ताकेता गरिरहेको छ ।'
गत असोज १२ गते आएको बाढीले बगाएको सिस्नेरी सडक खण्डको तीन सय मिटर सडक एक करोड लागतमा निर्माण भइरहेको छ । यस्तै, ज्यामिरे सडक खण्डमा छ सय मिटर सडक ४ करोड ४५ लाख लागतमा निर्माण भइरहेको छ ।
मन्त्रालयले विपद व्यवस्थापनअन्तर्गत मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर यो सडकको काम गरिरहेको हो । इन्द्र सरोवर गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रकुमार बलले सिस्नेरी र कुलेखानी सडक सञ्चालन हुँदा इन्द्र सरोवर गाउँपालिकाका स्थानीयलाई समेत सहज हुने बताउनु भयो ।
बाढीले क्षति पुर्याएको महालक्ष्मी खोलाको पुल सामान्य मर्मत गरेर बर्खामा सञ्चालनमा ल्याउन सकिने प्राविधिकहरु बताउँछन् । तर, सिमखोलामा भने अस्थायी बेलीब्रिज राख्ने तयारी छ ।