सिरहामा साढे ७१ लाख रुपैयाँ र लागूऔषधसहित पाँच जना पक्राउ

जेष्ठ ४, २०८२ |विनय आजाद
सिरहामा साढे ७१ लाख रुपैयाँ र लागूऔषधसहित पाँच जना पक्राउ

सिरहा । सिरहाबाट ठूलो परिमाणमा नगद र लागूऔषधसहित दुई दाजु-बहिनीसहित पाँच जना पक्राउ परेका छन् । सिरहा प्रहरीको विशेष टोलीको अपरेसनका क्रममा फरकफरक स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

जसमध्ये सबैभन्दा ठूलो परिमाणमा रकम र लागूऔषध बरामद भएको लहान नगरपालिका-२२ लबटोलीका दाजुबहिनीबाट हो । स्थानीय ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी यादवबाट ५५ लाख रुपैपाँ र दुई सय ग्राम ब्राउन सुगर बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार सुरुमा गत शुक्रबार साँझ ७ बजेको को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २१ ग्राम ब्राउन सुगर, ५१ हजार ४ सय ५० रुपैयाँ र दुई थान मोबाइल मात्र बरामद भएको थियो ।

तर, प्रहरीले त्यसपछि केरकार गर्दै उनीहरूको घरका कोठाहरू खानतलासी गर्दा थप १ सय ८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २ सय ८५ नेपाली र ३५ हजार ७ सय ८० भारतीय रुपैयाँ बरामद भयो । 

उनीहरूका साथबाट जम्मा ५५ लाख २२ हजार ९ सय ८३ रुपैयाँ नगद, २ सय १ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढंगले नै लागूऔषधको कारोबार गर्दै आएका थिए । उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

यसअघि, २०८० साउनमा ३ दशमल ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर दिनेशकुमार यादव ६ महिना जेल सजाय भुक्तान गरी २०८० माघ ५ मा रिहा भएका थिए ।

यस्तै, प्रहरीले अर्का एक व्यक्तिलाई स्रोत नखुलेको अवैध रकमसहित पक्राउ गरेको छ । सिरहा नगरपालिका-१७ का ४५ वर्षीय सञ्जय कारक शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट १६ लाख ३८ हजार ३ सय ७० रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनी हुन्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि पनि अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

यसैगरी, सिरहाबाटै थप दुई जना पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरूलाई बरियारपट्टी गाउँपालिका-३ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।