काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको दाबी गर्नभुयो ।
उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गर्नुभयो । भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख नखोल्दा अनुसन्धान प्रभावित हुने गरेको समेत उहाँको भनाइ छ ।
प्रमुख आयुक्त राईले भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गर्दै सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा नियन्त्रणमा कायापलट गरेको समेत जिकिर गर्नुभयो ।
भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको बताउनुभयो ।