मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

वैशाख २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गर्नुभएको छ । बेलायती प्रधानमन्त्री सर केइर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ लगायत युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी रूसलाई बिनाशर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेको केही घण्टापछि पुटिनको यस्तो भनाइ आएको हो । 

राष्ट्रपति पुटिनले यो वार्ता दिगो शान्ति स्थापना र युद्धका मूल कारणहरू हटाउने उद्देश्यले हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति पुटिनले मस्कोले यसअघि गरेका तीन वटा युद्धविराम प्रस्तावको जवाफ दिन युक्रेन असफल भएको आरोप पनि लगाउनुभयो । मस्को र किएभबीचको अन्तिम प्रत्यक्ष वार्ता तीन वर्षअघि युक्रेनमा रूसको पूर्णस्तरीय आक्रमण सुरु भए लगत्तै भएको थियो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै शान्तिवार्ताका लागि रूससँग भेटन किएभ तयार रहेको बताउनुभएको छ । इस्तानबुलमा वार्ताका लागि पुटिनले गरेको प्रस्तावको प्रत्यक्ष जवाफ नदिई जेलेन्स्कीले रूसले अन्ततोगत्वा युद्ध अन्त्य गर्नेबारे विचार गर्न सुरु गर्नु सकारात्मक संकेत भएको उल्लेख गर्नु भएको बीबीसीले जनाएको छ । 

जेलेन्स्कीले भोलि सोमबार १२ मेदेखि लागू हुने गरी ३० दिने युद्धविरामका लागि रूसले सहमति जनाउने अपेक्षा आफूले गरेको कुरा समेत आफ्नो पोस्टमा उल्लेख गर्नुभएको छ ।