कश्मीर समस्या समाधानका लागि मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव

पाकिस्तानद्वारा स्वागत
भारतको औपचारिक प्रतिक्रिया आउन बाँकी
वैशाख २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
कश्मीर समस्या समाधानका लागि मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवादको मूल जरोका रूपमा रहँदै आएको कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव गर्नुभएको छ । अमेरिकी मध्यस्थता र दबाबमा भारत र पाकिस्तान चार दिन लामो सैन्य संघर्षलाई रोक्न सहमत भएको दोस्रो दिन आफ्नो सामाजिक सञ्जाल ट्रुट सोशलमा लेख्दै ट्रम्पले कश्मीर मुद्दाको समाधानका लागि दुवै देशसँग मिलेर काम गर्न तयार रहेको प्रस्ताव गर्नुभएको हो । 

ट्रम्पको यो प्रस्तावलाई अत्यधिक महत्त्व र चासोका साथ हेरिएको छ । ट्रम्पको यो प्रस्तावको पाकिस्तानले तत्काल स्वागत गरेको छ भने भारत यस विषयमा अहिलेसम्म मौन रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले ट्वीट गर्दै दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि बृहत् भूमिका निर्वाह गर्ने अति मूल्यवान् प्रस्ताव भन्दै ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । यस्तै पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण एसियाको शान्ति र सुरक्षामा गम्भीर प्रभाव पार्दै आएको दीर्घकालीन जम्मु कश्मीर विवादको समाधानका लागि सहयोग गर्ने राष्ट्रपति ट्रम्पको हामी प्रशंसा गर्दछौं भनेको छ ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रतासँगै भएको भारत पाकिस्तान विभाजनदेखि नै कश्मीरको विषयलाई लिएर यी दुई राष्ट्रबीच दुई ठूला युद्ध र एउटा क्षेत्रीय युद्धका साथै थुप्रै द्वन्द्व र झडपहरू भएका छन् । कश्मीरको केही भूभाग आफ्नो नियन्त्रणमा लिए पनि दुवै देशले समग्र कश्मीरमाथि नै आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन् । 

भारतले कश्मीरको विषय दुई देशबीचको आन्तरिक मामिला भएको भन्दै यस विषयमा बाह्य देशको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तानले भने यसलाई जहिले पनि अन्तर्राष्ट्रियकरणको प्रयास गर्दै आएको छ ।

उता भारत र पाकिस्तानबीचको संघर्षविराम शनिबार राति भएका उल्लंघनका केही घटना बाहेक आइतबारदेखि भने मूलतः कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । भारत प्रशासित कश्मीरमा स्थानीय बजारहरू खुल्न थालेको र स्थिति बिस्तारै सामान्यीकरणतर्फ अग्रसर भएको रोयटर्सले जनाएको छ ।

भारत र पाकिस्तानबीच गत बुधबारदेखि चार दिनसम्म चलेको सीमापारि सैन्य संघर्षमा दुवै देशतर्फ गरी करिब ६० जना मारिएका छन् ।