ज्यानको जोखिम मोलेर जङ्गली हात्तीको उपचार

वैशाख १०, २०८२ |रमा दाहाल
ज्यानको जोखिम मोलेर जङ्गली हात्तीको उपचार

झापा । अजङ्गका जङ्गली हात्तीको नजिक पर्ने आँट कसको होला ? त्यसले आक्रमण गरिहाल्यो भने त ज्यान जोगाउन मुस्किल पर्छ । तर झापाका हात्ती संरक्षणकर्मी र वन कार्यालयका कर्मचारीहरू भने आफ्नो ज्यान धरापमा राखेर जङ्गली हात्तीको रेखदेख र उपचार गरिरहेका हुन्छन् । डेढ महिनादेखि झापाको जङ्गलमा छट्पटाइरहेको घाइते जङ्गली हात्तीलाई बचाउन संरक्षणकर्मी र वन कार्यालयका कर्मचारी यति बेला जोखिम मोलेरै खटिएका छन् ।

करिब डेढ महिनाअघि घाइते अवस्थामा भारतबाट नेपाल छिरेको एक भाले हात्तीलाई त्यति बेलैदेखि संरक्षणकर्मीहरूले निगरानी गरिरहेका थिए । घाउको पीडाले छट्पटाइरहेको उक्त जङ्गली हात्तीको रेखदेखसँगै उपचार प्रबन्ध मिलाउन संरक्षणकर्मीहरूले धेरैतिर धाउनुपर्‍यो ।

सिकिस्त अवस्थामा पुगेको हात्तीले एक महिनायता भने नियमित उपचार पाइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका विशेषज्ञको सहयोगमा वन कार्यालयका कर्मचारीहरुले सुरुमा ‘डार्ट’ गरेर औषधि दिएका थिए । त्यो विधि प्रभावकारी नदेखिएपछि अहिले खानेकुरामा मिसाएर एन्टीबायोटिक दिइरहेका छन् । चार दिनसम्म यो औषधि खुवाएपछि हात्ती निकै तन्दुरुस्त देखिएको छ ।

भारतबाट नेपाल छिरेका जङ्गली हात्तीहरु बेला बेला आपसमा झगडा गरेर घाइते हुन्छन् । कति बिरामी पर्छन् । यसरी घाइते र बिरामी परेका हात्तीको उपचार गर्ने तालिमप्राप्त जनशक्ति झापामा उपलब्ध छैनन् । तर पनि हात्तीको सबै आनीबानी बुझेका संरक्षणकर्मीहरू अघि लागेको भरमा वनका कर्मचारीहरूले यिनको उपचार गर्नुपरेको छ ।

भारतबाट छिरेका जङ्गली हात्ती घाइते हुने, बिरामी पर्ने र मर्ने शृंखला झापामा निकै लामो समयदेखि चलिरहेको छ । डिभिजन वन कार्यालयको रेकर्डअनुसार २०६४ सालयता झापामा मात्र २१ वटा जङ्गली हात्ती मरिसकेका छन् । आपसमा झगडा गरेर या बाली जोगाउने क्रममा मान्छेले आक्रमण गर्दा घाइते भएका अधिकांश हात्ती उपचार अभावमा जङ्गलमा छट्पटिदै मर्छन् । कति हात्ती त चोरीशिकारीको निशानामा पनि पर्ने गरेका छन् ।

यो घुमन्ते गज भने निकै भाग्यमानी रहेछ । किनकि आफ्नो ज्यान धरापमा राखेरै भए पनि संरक्षणकर्मी र वन कार्यालयका कर्मचारीहरू यसको ज्यान जोगाउन तल्लीन छन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।