राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही हुन्छ : गृह मन्त्रालय

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको हो ।

राप्रपाले राजतन्त्र पुन:स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । 

यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना सर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.