काठमाडौं । विद्यालय शिक्षा विधेयकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरे पनि शिक्षक महासंघले आन्दोलन जारी राखेको छ । विधेयक पारित हुनेमा आश्वस्त हुन नसकेपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।
शिक्षक महासंघका प्रतिनिधिहरूले गए राति प्रधानमन्त्री ओली र सभामुख घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी बालुवाटार पुगेका थिए । झन्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले संसद्को बर्खे अधिवेशनमा शिक्षा विधेयक टेबल हुने भएकाले आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
तर प्रधानमन्त्रीको भनाइमा आश्वस्त हुन नसकेपछि महासंघका प्रतिनिधि राति नै सभामुख घिमिरेलाई भेट्न गएका थिए । त्यस क्रममा सभामुख घिमिरेले संसदीय समितिलाई विधेयक छिटो अघि बढाउन आफूले पटक-पटक आग्रह गरेको जानकारी दिनुभएको थियो । सभामुखले संसदीय समितिबाट विधेयक आएर संसद्मा टेबल भए प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको थियो । तर महासंघका प्रतिनिधिहरू विधेयक पारित हुनेमा आश्वस्त हुन सकेका छैनन् ।
त्यही कारण शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिँदै आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनपछि महासंघको बैठक बस्दै छ । यो बैठकले आन्दोलनलाई कसरी अघि बढाउने भन्ने निर्णय गर्ने बताइएको छ ।
विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकले प्रदर्शन गर्दै आएका हुन् ।