काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय म्याथमटिक्स (गणित) ओलम्पियाडमा सहभागी हुन आज नेपाली टोली तुर्कमेनिस्तान प्रस्थान गरेको छ । ३० भन्दा बढी राष्ट्र सहभागी हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट ६ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् ।
यही अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा करिब ३०० भन्दा बढी विद्यार्थीहरूबीच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा हुँदैछ । यसमा नेपाली विद्यार्थीले सहभागिता जनाएको यो प्रथम पटक हो ।
म्याथमटिक्स एसोशिएशन अफ नेपालका केन्द्रीय सह कोषााध्यक्ष डा. सरस्वती आचार्यको नेतृत्वमा कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूमा आयुष ठगुना (दार्चुला ), आयुष मरासिनी (गुल्मी), आशिष मिश्र (धनुषा), सुहित ढुंगाना (भक्तपुर), प्रकृश आचार्य (काठमाडौं) र शुभम श्रेष्ठ (काठमाडौं) रहेका छन् ।
नेपाली विद्यार्थीको सह-नेतृत्व शिक्षक धर्मेन्द्रकुमार यादवले गर्नुहुनेछ ।
प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीलाई काठमाडौं तीनकुनेस्थित दिव्य कलेजको सभाहलमा एक कार्यक्रम गरी बिदाइ तथा शुभकामना व्यक्त गरिएको छ । नेपाल गणित संघका महासचिव तथा दिव्य कलेजका निर्देशक छवि ढुंगानाको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिप्रपन्न कँडेल, दिव्य कलेजका सूचना तथा सञ्चार प्रमुख दुर्गाप्रसाद चौलागाईं लगायत अभिभावकले बिदाइ तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला र प्रदेश हुदै संघमा कडा प्रतिस्पर्धापछि अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागीहरूको छनोट गरिन्छ । यस्तै आगामी जुलाई ९ देखि २० तारिखसम्म अस्ट्रेलियामा हुने ६६ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुने ६ जना सहभागीको नाम पनि चयन भइसकेको म्याथमटिक्स एसोशिएशन अफ नेपालले जनाएको छ ।