दुई दिनदेखि राेक लगाइएकाे पाइलट च्यानलको निर्माण काम फेरि सुरू

वैशाख ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई दिनदेखि राेक लगाइएकाे पाइलट च्यानलको निर्माण काम फेरि सुरू

कोशी । कोशीमा नदीमा भारतीय पक्षले गरिरहेको निर्माण काममा दुई दिनदेखि सप्तरी प्रशासनले रोक लगाएपनि शुक्रबारदेखि यथास्थितिमै फेरि पाइलट च्यानल, स्वाइल रिमुभरसहितका निर्माण काम सुरू भएको छ।

कोशी नदीको प्राकृतिक धार परिवर्तन गराउन भारत बिहारको वीरपुरस्थित कोसी योजनाले ६ करोड भारतीय रुपैयाँमा भारतीय ठेकेदार कम्पनी जयप्रकाश कन्ट्रयाक्टरलाई आउँदो १५ मे सम्ममा निर्माण काम सम्पन्न गर्न भनेको छ ।

निर्माण कामअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ टिकुलियास्थित पश्चिमी तटबन्ध नजिकै ७ सय ५० मिटर लामो र ७५ मिटर चौडाइको पाइलट च्यानल निर्माण छन ।

उक्त निर्माण कामले नेपाली गाउँबस्ती डुबानमा पर्ने हुँदा स्थानीयले सप्तरी प्रशासनमा दिएको उजुरीको आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले दुई दिनअघि काममा रोक लगाउनुभएको थियो ।

तर, पछिल्लो पटक सप्तरी प्रशासनले कोसीका नेपाली प्रतिनिधि, भारतीय प्राविधिक तथा ठेकेदारहरूबीच गरेको छलफलले उक्त काम नेपाल र भारतको उच्चस्तरीय समितिको निर्णयबमोजिम नै हुन लागेको भन्दै शुक्रबारदेखि फेरि कोशीमा पाइलट च्यानल खन्ने काम सुरू भएको हो ।

तर, स्थानीय सरकारले भने भारतीय पक्षले एकतर्फीरूपमा गरिरहेको अपारदर्शीको काम विरोध कायमै राखेका छन् । पछिल्लो ५ वर्षदेखि लगातार कोशीको पश्चिमी क्षेत्रमा भारतीय पक्षबाट भइरहेको जथाभावी निर्माणकै कारण जोखिम बढिरहेको उनीहरूको आरोप छ ।

एक दशकअघिसम्म सप्तरीस्थित पश्चिमी तटबन्ध छेउबाट कोसी बग्दैन थियो । तर, यो बीचमा भारतले वर्षेनी खन्दै आएको पाइलट च्यानल, स्वाइल रिमुभर, माटोको अग्लो ढिस्को बनाउनाले कोसीको धार परिवर्तन भई बहाव पश्चिम हुँदै दक्षिणतर्फ मोडिएपछि सप्तरीको टिकुलिया, बनरझुला, रम्पुरा, डलुवासहितका नेपाली गाउँ उच्च जोखिममा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.