काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रमाणबिनाको तथ्यांकको आधारमा विमानस्थललाई बदनाम नगर्न अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट मार्फत मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई बदनाम गर्न नहुने बताउनुभएको हो ।
“४० प्रतिशत रकमले परियोजना बन्यो र ६० प्रतिशत अनियमित भएको भनिएको छ । के यो सम्भव होला ? सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एअरपोर्टलाई बदनाम नगरौं”, उहाँले भन्नुभयो ।
मेयर आचार्यले सार्वजनिक खपत र मिडिया ट्रायलका लागि अनुमानका भरमा निष्कर्ष निकाल्न अनुचित हुने पनि बताउनुभयो । उहाँले अनियमितता भएको भए छानबिन हुनुपर्ने र दोषी ठहरिए कानुनी कठघरामा उभ्याउनुपर्ने भन्दै अन्तर्राष्ट्रिय उडान नियमित गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
“विवाद होइन, सफलता र सम्भावनाको केन्द्र बनाऔं हाम्रो पोखरा विमानस्थललाई”, उहाँले भन्नुभयो ।