पोखरा विमानस्थलमा कुल लागतको ४० प्रतिशत भ्रष्टाचार भएको दाबी

वैशाख ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखरा विमानस्थलमा कुल लागतको ४० प्रतिशत भ्रष्टाचार भएको दाबी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै विवादमा परेको छ । प्रतिवेदनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच नै फरक मत देखिएको छ ।

उपसमितिले गरेको अध्ययनमा विमानस्थल निर्माण लागतको ४० प्रतिशतसम्म भ्रष्टाचार भएको देखिएको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीतिगतदेखि निर्माण प्रक्रियासम्मै भ्रष्टाचार भएको पुष्टि हुने बताउनुभयो । विमानस्थल निर्माणको काममा राजनीतिक नेतृत्वदेखि कर्मचारीहरूसम्म भ्रष्टाचारमा संलग्न रहेको भन्दै उहाँले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभयो ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने उपसमितिले गलत मनसायका साथ प्रतिवेदन तयार पारेको भन्दै असन्तुष्टि जनाएको छ । उपसमितिका सदस्य समेत रहनुभएका एमाले सांसद तारा लामाले प्रतिवेदनमा आफूहरूको सहमति नरहेकाले हस्ताक्षर समेत नगरेको बताउनुभयो ।

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक भएपछि पोखराका व्यवसायीले पनि छानबिन गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल निर्माणको कामलाई लिएर आफूहरूले सुरुदेखि नै प्रश्न उठाएको भन्दै छानबिन गर्न माग गर्नुभयो ।

राप्रपाका अध्यक्ष समेत रहेका सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन तयार पारेको हो । तर विवादमा परेपछि उपसमितिले यो प्रतिवेदन समितिलाई बुझाएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.