रामेछाप । रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।
निर्माणकै क्रममा शुक्रबार मन्थली नगरपालिका–६ कुनाउरी र वडा नम्बर ७ मुगिटार जोड्ने पक्की पुल भाँचिएको मन्थली नगरपालिका–६ का स्थानीय गोपाल माझीले बताउनुभयो । उहाँका अनुसार तीन वटा स्ल्याब रहेको पुलको बीचको स्ल्याब भाँचिएको हो ।
यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुलको अन्तिम स्ल्याब ढलान भइरहँदा बीचको स्ल्याब भाँचिएको हो ।
सरकारले पुल निर्माणका २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त रकममध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ ।
दुई महिनाअगाडि नै पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न गरिसकेको निर्माण कम्पनीले दाबी गरेको थियो । यो पुल निर्माण पश्चात् काठमाडौं रामेछापका लागि सहज यात्रा हुने आशा गरिएको थियो । यो पुल बनेपछि मन्थली-खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौलीसहित खाँडादेवी गाउँपालिकाको विभिन्न वडा पुग्न सकिन्छ ।