काठमाडौं । भारत र पाकिस्तानले शुक्रबार तेस्रो दिन पनि एक अर्कामाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै थप आक्रमण गरेको आरोप लगाएका छन् ।
भारतले बुधबार बिहानै पाकिस्तान अधिनस्थ कश्मिर र मुख्यभूमी पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गरेपछि दुवै देशबीचको द्वन्द्व चरम उत्कर्षमा पुगेको हो । भारतीय आक्रमणको प्रतिकारमा पाकिस्तानले पनि कश्मिरमा लाइन अफ कन्ट्रोल अर्थात् नियन्त्रण रेखा पारी गोलाबारी गरेको थियो ।
भारतले गरेको आक्रमणमा अहिलेसम्म ३६ जना मारिएको पाकिस्तानले जनाएकोछ भने पाकिस्तानले नियन्त्रण रेखा पारी गरेको गोलाबारीमा १६ सर्वसाधारण मारिएको भारतले जनाएको छ ।
पाकिस्तानले बुधबार राति र बिहीबार राति पनि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । पाकिस्तानले पनि अहिलेसम्म भारतले प्रहार गरेका ७७ वटा ड्रोन खसालेको दाबी गरेको छ । दुवै देशबीच कश्मिर क्षेत्रमा नियन्त्रण रेखा वारीपारी गोलाबारी भएको जनाइएको छ ।
भारतले पाकिस्तानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आफ्ना तीन वटा सैन्य आधार शिविरमा आक्रमण गरेको आरोप लगाएको छ भने पाकिस्तानले भने आफूले हमला नगरेको दाबी गरेको छ । भारत प्रशासित कश्मिरको जम्मु र उधमपुर तथा पंजाब राज्यको पठानकोटमा रहेका आफ्ना सैन्य शिविरहरुमा पाकिस्तानले गरेको आक्रमणको प्रयासलाई विफल पारेको भारतको दाबी छ ।
भारत र पाकिस्तानबीच तनाव चर्किंदै जाँदा नियन्त्रण रेखा वरपरको सीमावर्ती क्षेत्रका गाउँ र थुप्रै शहरका बासिन्दा सुरक्षित स्थानमा सरेको जनाइएको छ ।
यसैबीच, बिहीबार राति कश्मिरको साम्बा क्षेत्रमा आतंकवादीले सीमापारीबाट भारततर्फ छिर्न गरेको प्रयासलाई निरस्त पारेको र यसक्रममा ७ जना आतंककारी मारिएको भारतीय सीमा सुरक्षा बलले दाबी गरेको छ ।
पंजाबको सीमावर्ती शहर अमृतसरमा शुक्रबार दिउँसो करिब दुई घण्टासम्म चेतावनीको साइरन बजेको र मानिसहरुलाई आआफ्नो घरबाट बाहिर ननिस्किन भनिएको रोयटर्सले उल्लेख गरेको छ । यस्तै, अन्य सीमावर्ती शहरहरु गुजरातको भुज र राजस्थानको बिकानेर क्षेत्रमा सुरक्षा सावधानी अपनाइएको र विद्यालय तथा कोचिङ सेन्टर बन्द गरिएको जनाइएको छ ।
यसैबीच, भारतको नागरिक उड्डयन प्राधिकरणले भोलि शनिबारसम्मका लागि देशका २४ वटा विमानस्थलमा व्यावसायिक उडानमा रोक लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ । दिल्लीमा मात्रै दुई दिनमा २ सय २८ वटा उडान रद्द गरिएको जनाइएको छ ।
उता, सामाजिक सञ्जाल एक्सले भारत सरकारको आदेशमा भारतमा सञ्चालित ८ हजार अकाउन्ट रोक्का गरेको जनाएको छ । यसरी प्रतिबन्ध लगाइएका अकाउन्टमा पाकिस्तानी सञ्चार माध्यम डन र जियो टिभीका साथै थुप्रै पाकिस्तानी पत्रकारका अकाउन्ट समेत रहेको एक्सले जनाएको छ ।
यसैबीच, बीबीसीले दक्षिण एसियामा दुई परमाणुशक्ति राष्ट्रबीच पहिलो ड्रोन युद्ध शुरु भएको टिप्पणी गरेको छ ।