दुई वटा जुजु धौ पसलमा अनुगमन, पाँच हजार जरिवाना

वैशाख २६, २०८२ |सुन्दर शिल्पकार
दुई वटा जुजु धौ पसलमा अनुगमन, पाँच हजार जरिवाना

भक्तपुर । भक्तपुरको लिवालीमा सञ्चालित सैजु दुग्ध दही उद्योगलाई खाद्य तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पाँच हजार जरिवाना गराएको छ । भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजुले सञ्चालन गरेको उद्योगमा उत्पादन हुने लालमोहन तथा गुँदपाकमा उत्पादन मिति नभएको, लेबलिङ नगरेको, खाद्य अनुज्ञापत्र नलिई उत्पाद गरेको र सरसफाइमा कमी भएको भन्दै अनुगमन टोलीले पाँच हजार जरिवाना गराएको हो ।

अनुगमन टोलीले लालमोहन तथा गुँदपाकमा उत्पादन मिति नराखेको भन्दै जरिवाना गराएको खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले जरिवाना तीन दिनभित्र नगरपालिकामा दाखिल गर्न समेत आग्रह गरिएको छ । 

यस्तै दहीमा अखाद्य वस्तु भेटियो भनेर सामाजिक सञ्जालमा भाइरल भएको लक्ष्मी दही भण्डार व्यासीमा पनि अनुगमन टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सरसफाइमा ध्यान दिनुपर्ने, लेबल विवरण र मूल्य विवरण लगायतका विवरण दहीमा नभएकाले राख्नुपर्ने खाद्य तथा गुण नियन्त्रण विभागका निरीक्षक सरोज पौडेलले बताउनुभयो । 

दुई वटै पसलबाट नमुना परीक्षणका लागि दुई डब्बा दही ल्याब टेस्टका लागि लगिएको छ । १० दिनभित्र नतिजा आउने र नतिजा अनुसार सुधार गर्नुपर्ने तथा अखाद्य वस्तु भेटिए खाद्य ऐन अन्तर्गत कारबाही गर्ने जनाएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।