काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका विद्यार्थी एवं अन्य नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको हो ।
पाकिस्तानस्थित नेपाली दूतावासले पनि आफूहरु नेपाली विद्याथीहरुसँग सम्पर्कमै रहेको र उनीहरु सुरक्षित रहेको जनाएको छ । नेपाली दूतावासकी तृतीय सचिव वृन्दा सुवेदी खड्काले कान्तिपुर समाचारसँग कुरा गर्दै उनीहरुको उद्धारका लागि प्रक्रिया जारी रहेको जानकारी दिनुभयो ।
यस्तै, भारतस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपालीहरुलाई सुरक्षित र सचेत रहन आग्रह गरेको छ । दूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकका स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न आग्रह गरेको छ ।
यता, सांसदहरुले भारत र पाकिस्तानबीच तनाव चर्किरहेको अवस्थामा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको उद्धार र सुरक्षाको पहल गर्न माग गरेका छन् ।
पाकिस्तानको लाहौर, कराँची, मुल्तान, फैसलावाद, सियालकोट र साहीवालमा करिब १ सय नेपाली विद्यार्थी रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै, तत्काल थप सहयोग आवश्यक परे विद्यार्थी तथा उनीहरूका अभिभावकलाई इस्लामावादस्थित राजदूतावासमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले तृतीय सचिव वृन्दा सुवेदी खड्कालाई +९२३३१३२९३११९ तथा आर्सलान मेहमुदलाई +९२३४०५१७४२६१ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ । यस्तै, [email protected] मा इमेल गर्न सकिने पनि जनाएको छ ।