पीएम कप एनभीए महिला तथा पुरुष भलिबल यसपटक पोखरामा हुने

वैशाख २६, २०८२ |खेल ब्युरो
पीएम कप एनभीए महिला तथा पुरुष भलिबल यसपटक पोखरामा हुने

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला तथा पुरुष भलिबल यसपटक पोखरामा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हल पुननिर्माणको चरणमा भएका कारण संघले एनभीए महिला तथा पुरुष भलिबल लिग पोखरामा गर्न लागेको हो । प्रतियोगिता जेठ ८ गते भलिबल डेको दिनबाट सुरु भएर जेठ १५ गते समापन हुनेछ । 

एक सातासम्म चल्ने लिग प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमको सहभागीता रहनेछ । पुरुषतर्फ तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित हेल्प नेपाल स्पोर्ट्स क्लब, मणिमुकुन्द क्लब, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र केशी प्रदेशले सहभागिता जनाउनेछन् । 

यस्तै, महिलातर्फ पनि तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशको सहभागिता रहनेछ । 

प्रतियोगितामा भाग लिने टिमलाई खान बस्नका लागि प्रति खेलाडी १२ सयका दरले उपलब्ध गराउने संघले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ८ लाख, दोस्रो पुरस्कार ४ लाख र तेस्रो पुरस्कार २ लाख रुपैयाँ रहेको छ भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद प्राप्त गर्नेछ । 

विधागततर्फ यसअघिको प्रतियोगितामा २० हजार रहेकोमा यो वर्ष त्यसलाई बढाएर २५ हजार रुपैयाँ बनाइएको छ । प्रतियोगिताको कुल खर्च ९० लाख रुपैयाँको हाराहारीमा रहने संघले जनाएको छ ।