पब्जी मोबाइल एसिया सोडाउनको पहिलो दिन इन्डोनेसिया शीर्षस्थानमा, नेपाल रेड तेस्रो

वैशाख २६, २०८२ |खेल ब्युरो
पब्जी मोबाइल एसिया सोडाउनको पहिलो दिन इन्डोनेसिया शीर्षस्थानमा, नेपाल रेड तेस्रो

काठमाडौं । इस्पोर्ट्स एसोसिएसन अफ नेपालले आयोजना गरिरहेको पब्जी मोबाइल एसिया सोडाउनको पहिलो दिन इन्डोनेसिया शीर्षस्थानमा रहेको छ । नेपालबाट तीन टोली सहभागी रहेकोमा नेपाल रेड तेस्रो, नेपाल ब्ल्यु चौथो र नेपाल ह्वाइट छैटौं स्थानमा छन् ।

प्रतियोगिताको पहिलो दिन नेपाल रेडले कुल ५१ अंक जोड्यो । यो टिम शीर्षस्थानको इन्डोनेसिया भन्दा २८ अंकले पछि परेको छ । त्यसैगरी, दोस्रो स्थानको पाकिस्तानको ५८ अंक छ । 

पहिलो दिन पाँच खेल आयोजना भएका थिए । पाँच खेलमध्ये इन्डोनेसियाले दुई तथा पाकिस्तान, नेपाल रेड, नेपाल ब्ल्यु र माल्दिभ्सले एक-एक चिकन डिनर गरेका थिए । 

व्यावसायिक क्लब डिआरएस गेमिङले नेपाल ब्ल्यू नाममा खेलिरहेको छ । यही टोलीले इरेङ्गलमा जितेको थियो । पाँच खेल फरक-फरक तीन भर्चुअल लोकेसनमा आयोजना भएका थिए । यसमा १६ देशका टिम सहभागी छन् । १० लाख पुरस्कार रहेको प्रतियोगितामा आज कुल १४ इलिमिनेसन गरेका मालाक्युबले मस्ट भ्यालुएबल खेलाडीको तालिकामा सर्वाधिक १५ अंक जोडेका छन् । 

पाकिस्ताना तीन खेलाडी यो तालिकाको शीर्ष पाँचभित्र परेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा हरेक दिन पाँच खेल हुनेछन् । सहभागी नेपाल ब्लुको ४३ र नेपाल ह्वाइटको २९ अंक छ ।