बारपाकमा भीसी गजे घले संग्रहालय स्थापना

वैशाख २६, २०८२ |भीमलाल श्रेष्ठ
बारपाकमा भीसी गजे घले संग्रहालय स्थापना

गोरखा । भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मथलो गोरखाको बारपाकमा भीसी गजे घले तथा नेपाल तारा स्मारक एवं संग्रहालयको स्थापना गरिएको छ । परिवारले स्थापना गरेको भीसी गजे घलेको स्मारक फाउन्डेशन भवन तथा संग्रहालयको एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो ।

स्मारक परिसरमा स्थापित भीसी घलेको अर्धकदको शालिकको अनावरण गर्नुका साथै मुख्यमन्त्री पाण्डेले रेखा भन्तनाले लेख्नुभएको भिक्टोरिया क्रस विजेता गजेको घलेको जीवनमा आधारित ‘गजे घले भेडीगोठदेखि भीसीसम्म’ भन्ने पुस्तकको विमोचन समेत गर्नुभयो । कार्यक्रममा गजे घले कार्यरत रहेको भारतीय सेनाका २ जीआए ५ ग्रुपका देशभरका भूपू सैनिक र तिनका परिवारको उपस्थिति रहेको थियो । बुबाकै जन्मथलोमा स्मारकको स्थापना गर्न पाएकोमा भीसी गजे घलेका माइला छोरा केशरसिं घलेले खुशी व्यक्त गर्नुभयो ।

गजे घले सन् १९१९ असस्ट १ मा गोरखाको बारपाकमा जन्मनुभएको थियो । दोस्रो विश्वयुद्धमा बर्माको रंगुनस्थित चिनहिलमा जापानी फौजमाथि ब्रिटिश सरकार मातहतमा रहेको भारतीय सेनाले विजय हासिल गर्दा घलेले आफ्नो बहादुरी देखाउनुभएको थियो । दोहोरो भिडन्तमा खुकुरीका भरमा १३ जापानी सेनामाथि आक्रमण गरे बापत गजे घलेलाई बहादुरी पदक भिक्टोरिया क्रस प्रदान गरेको थियो । पछि श्री ३ जुद्ध शमशेरले समेत घलेलाई नेपाल तारा सम्मान दिएका थिए ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।