भारत-पाकिस्तान द्वन्द्व बढ्दै गएपछि भारतसँगको सीमानाकामा उच्च सुरक्षा सतर्कता

वैशाख २६, २०८२ |रमेश धमला
भारत-पाकिस्तान द्वन्द्व बढ्दै गएपछि भारतसँगको सीमानाकामा उच्च सुरक्षा सतर्कता

काठमाडौं । भारत-पाकिस्तानबीच द्वन्द्व बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका २४ जिल्लामै उच्च निगरानी राखेको छ भने भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आफ्नो सुरक्षा व्यवस्थालाई लिएर निरन्तर समीक्षा गरिरहेको गृहमन्त्रालयले भारतसँगको सीमा जोडिएका जिल्लाहरुमा सशस्त्र प्रहरी बलले निरन्तर गस्ती बढाइरहेको जानकारी दिएको हो । 

२४सै घण्टा गस्ती गर्न सशस्त्र प्रधानकार्यालयले निर्देशन समेत दिएको छ । त्यस्तै, नेपाल प्रहरीले पनि सीमा नाकाबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विषेश निगरानी गर्न निर्देशन दिएको छ । 

नेपाल प्रवेश गर्ने र भारत जाने दुवैको सुरक्षा जाँच गरिरहेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग पनि समन्वय गर्न भनेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा प्रमुखहरुसँग निरन्तर सीमा र काठमाडौंसहित मुख्य शहरहरुको सुरक्षा अवस्थाबारे जानकारी लिइरहनु भएको छ । नेपाली सेनाले भारत-पाकिस्तानमा बढ्दै गएको तनावबारे आफू जानकार रहेको जनाएको छ । 

दुई देशको द्वन्द्वले नेपालमा आउने ढुवानी प्रभावित हुन सक्नेतर्फ पनि सरकारले सुरक्षा निकायसँग जानकारी लिएको हो । भारतसँग सीमा जोडिएका २४ जिल्लामै उच्च निगरानी राखिएको सशस्त्रले जनाएको छ । 

सशस्त्रले भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचाल नगरिएको जनाएको छ । नेपाल प्रवेश गर्न सक्ने मधेश प्रदेश अन्तर्गतका भित्री बाटाहरु, पश्चिमको कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा जनशक्ति थप गरेरै गस्ती बढाइएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।