काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै त्यस्तो गरिए कानुन अनुसार कारबाही गरिने बताउनुभएको हो । उहाँले शान्ति सुरक्षा, कानुन कार्यान्वयन, साइबर अपराध नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०७७ सालमै प्रदेश प्रहरी ऐन बने पनि प्रहरी समायोजनमा संघीय सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । तीनै तहका सरकारबीच सहकार्य आवश्यक हुने भए पनि एकले अर्काको दोष देखाएर पन्छिने प्रवृत्ति राम्रो नभएको बताउनुभयो ।
लागूऔषध नियन्त्रण र सामाजिक सञ्जालको दुरुपयोग रोक्नु अहिलेको चुनौती रहेको उहाँको भनाइ छ । गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरू, गण्डकी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरू सहभागी छन् ।