काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकले आज १७ औं दिन काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले माग पूरा गर्नुको साटो छलछाम गर्न खोजेको भन्दै शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय पनि गरेको हो ।
शिक्षा ऐन जारी गर्न र शिक्षकका माग पूरा गर्न सरकार जिम्मेवार नदेखिएको आरोप महासंघले लगाएको छ ।
महासंघको आह्वानमा शिक्षकहरूले आज पनि माइतीघर, बबरमहल र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका छन् । शिक्षक आन्दोलनका कारण बानेश्वर क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नर्फकने अडान राखेका छन् ।
सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै पटक पटक वार्तामा बोलाए पनि शिक्षकहरू गएका छैनन् । शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्दै आएका छन् ।