कान्तिपुर समाचारकाे प्रभाव, अलपत्र बनेको सैनिक स्मृति पार्क सञ्चालन

वैशाख ५, २०८२ |नवराज श्रेष्ठ
कान्तिपुर समाचारकाे प्रभाव, अलपत्र बनेको सैनिक स्मृति पार्क सञ्चालन

रामेछाप । रामेछापमा अलपत्र बनेको सैनिक स्मृति पार्क सञ्चालनमा आएको छ । २०६६ साल वैशाख १० गते रामेछाप नगरपालिका–८ स्थित वादीपाखा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा श्रीजंग गणबाट खटिएका १२ जना र उक्त गणमा काजमा रहेका रुद्रध्वज गणका १ जना सैनिकको जलेर ज्यान गएको थियो ।

डढेलो निभाउने क्रममा जलेर ज्यान गुमाएका सैनिकहरूको सम्झनामा आर्थिक वर्ष २०७९-०८० मा डिभिजन वन कार्यालय रामेछापको २५ लाख रुपैयाँ बजेटबाट सैनिक स्मृति पार्क निर्माण गरिएको थियो ।

स्थानीय उपभोक्ता समितिले निर्माण गरी डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको लामो समय बित्दा पनि पार्क उद्घाटन नहुँदा अलपत्र बनेको थियो ।

सोही विषयमा गत फागुन २२ गते कान्तिपुर टेलिभिजनमा वन डढेलो निभाउने क्रममा ज्यान गुमाएका सैनिकको सम्झनामा निर्माण भएको पार्क अलपत्र भएको समाचार प्रसारण भएको थियो । 

त्यसपछि बाँकि रहेको काम पुरा गरी नेपाली सेना र रामेछाप नगरपालिकाले संयुक्त रूपमा शुक्रबार पार्कको उद्घाटन गरेको हो । पार्कको श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले उद्घाटन गर्नुभएको छ ।

रामेछाप अस्पतालको गेट सिलिखान चोकमा निर्माण गरिएको पार्क डिभिजन वन कार्यालय रामेछाप, नेपाली सेना र स्थानीय सरकारको बिचमा कुरा नमिलेकै कारण उद्घाटन हुन सकेको थिएन । 

जिम्मेवार निकाय एक अर्कालाई देखाएर पन्छिने प्रवृत्तिले आगो निभाउने प्रयास गर्दागर्दै ज्यान गुमाएका सैनिकहरूको योगदानको अवमूल्यन र अपमान भएको गुनासो हुँदै आएको थियो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।