बर्दिया । बर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् ।
बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता पार्यो । घटनाको २२ वर्ष बितिसक्यो, टाटेरामको न सास न त लाश नै भेटियो । यतिका वर्ष कुर्दा पनि सरकार र पार्टीले कुनै सूचना निदिएपछि बाध्य भएर रामदुलारीले कुशको शव बनाएर श्रीमान्को काजकिरिया गर्नुभयो । आम्दानी नहुँदा छोराछोरीले पढ्न पाएनन् ।
“सरकारले यतिका वर्षसम्म न लास देखायो न सास देखायो । मैले कतैबाट कुनै सहयोग पाइनँ । सरकारले केही गर्ला भन्ने आशा टरेपछि बाध्य भएर दाहसंस्कार गरें । कुनै नेता, पार्टीको मानिसले केही गरेनन्”, रामदुलारीले बताउनुभयो ।
०५९ असार २७ गते गुलरिया नगरपालिका-१२ भैसाहीका लिखाराम थारू सरकारी सेनामा जागिर खान नेपालगन्जस्थित पृतना पुग्नुभयो । तर सेनाले उहाँलाई माओवादीको आरोपमा नियन्त्रणमा लिई बेपत्ता बनायो ।
बारबर्दिया-७ कि पौती थारूलाई ०५९ साल साउन २६ गते सुत्केरी व्यथा लागेको थियो । सुरक्षा फौज सोही रात उहाँको घरमा पसेर श्रीमान् जगतरामलाई जर्बरजस्ती लग्यो । व्यथाले छपटिएकी पौतीले प्रतिवाद गर्न खोज्दा सुरक्षाकमीले उहाँलाई धकेले । पौतीलाई अब श्रीमान् जीवितै फर्केलान् भन्ने आशा छैन । तर अति कमजोर आर्थिक अवस्था भएकोले उहाँले श्रीमान्को किरिया समेत गर्न सक्नुभएको छैन ।
“बिहान ल्याइदिन्छौं भनेर लगेका थिए । नलैजाऊ भन्दै छुटाउन जाँदा मेरो गर्भमा असर पर्ने गरी धकेले । निकै दुखेकाले भोलिपल्ट अस्पताल पुगें । एक महिना अस्पताल बसें । श्रीमान् बेपत्ता भएको पीडा छँदै थियो । छोरा जन्मियो, निकै कम तौलको थियो । समोसा खाएर बाँचें । मलाई श्रीमान् चाहियो सरकार । श्रीमान् भएको भए हामलाई पाल्थे । गरिबीका कारण किरिया समेत गर्न सकेकी छैन”, पौती थारूले बताउनुभयो ।
बर्दियामा द्वन्द्वकालमा राज्य पक्षबाट २३४ र विद्रोहीबाट १६ जना गरी २५० जना बपत्ता भएको तथ्यांक छ । द्वन्द्वका समय बेपत्ता पारिएकाहरूको अवस्था दुई दशक बितिसक्दा पनि अज्ञात छ । राज्यले परिपूरणको व्यवस्था गरी बेपत्ता पारिएको अवस्था सार्वजनिक गर्न जरुरी छ ।