काठमाडौं । नेपालमा वन सम्पदा संरक्षणको सुरुआत सन् १८६९ देखि भएको हो । राष्ट्रिय निकुञ्ज संरक्षणका लागि नेपाली सेना परिचालन गर्न थालिएको भने ५० वर्ष मात्रै भएको छ । ६४ वर्षअघि गैंडा गस्तीबाट सुरु भएको सेनाको तैनाथी अहिले १२ राष्ट्रिय निकुञ्जसहित आरक्षण क्षेत्रसम्ममा छ । यसका लागि सेनाले ८ हजार जनशक्ति परिचालन गरेको छ ।
चितवनमा एकसिंगे गैंडाको सुरक्षामा जोखिम देखिएपछि २०१८ सालमा तत्कालीन सरकारले नेपाली सेनामार्फत गस्ती सुरु गरेको थियो । जुन नेपालको निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षणका लागि सेना परिचालनको पहिलो अभ्यास थियो । तर संस्थागत रूपमा नेपाली सेना करिब १४ वर्षअछि अर्थात् २०३२ सालमा मात्रै औचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ गर्न थालिएको हो ।
अहिले देशैभर रहेका १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष र १ सिकार आरक्षको सुरक्षा जिम्मेवारी पनि सेनाले पाएको छ । राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुहरू एकसिंगे गैंडादेखि पाटेबाघसम्मको सुरक्षाका लागि देशैभर ८ वटा गण, ७ वटा अनाश्रित गुल्मबाट ८ हजार सेना परिचालित हुँदै आएका छन् । सेनाले निकुञ्ज सुरक्षाको जिम्मेवारी लिएपछिको पछिल्लो १६ वर्षमा मात्रै पाटेबाघको संख्या १ सय २१ बाट बढेर ३ सय ५५ पुगेको छ ।
एकसिंगे गैंडाको संख्या २० वर्षमा ४ सयबाट ७ सय ५२ पुगेको छ । तर यो ५० वर्षमा संरक्षणमा खटिएका १ सय २१ जना सैनिकको वन्यजन्तुको आक्रमणमा मृत्यु भएको छ । सेनाका लागि अहिले पनि जंगल क्षेत्रमा तस्करले लुकाएर राखेका हतियार र वन्यजन्तु सिकारका लागि बिच्छाइएका पासो चुनौती बनिरहेको छ । गत वर्षमा मात्रै ३३ नाल बन्दुक र ४ जना सिकारीलाई पक्राउ परेका छन् ।
निकुञ्ज क्षेत्रमा वन्यजन्तुको संख्या बढेसँगै मानव सुरक्षा पनि चुनौती बनिरहेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका बस्तीमै पसेर वन्यजन्तुको आक्रमणले मानव र वन्यजन्तु दुवै जोगाउनुपर्ने भएको हो । सेनाले १२ वटा राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज नै सबैभन्दा चुनौतीपूर्ण रहेको जनाएको छ ।
राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिए पनि तस्करी नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज संरक्षण विभाग र अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा छुट्टै पिल्लर राखिएका छन् । विषेशगरी तस्करीमा संलग्न संगठित आपराधिक समूह निस्तेज नपारेसम्म वन्यजन्तु जोगाउने चुनौती कम हुने छैन ।