काठमाडौं । विश्व फुटबलको नियामक निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 'कन्ट्रोल फन्डिङ' हटाएको छ । सन् २०२१ मार्च १५ मा आर्थिक अपारदर्शिता र अनियमितताको आशंकाका कारण लागू गरिएको यो व्यवस्था झन्डै चार वर्षपछि हटाइएको हो ।
फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटीको यही जुलाई १० मा बसेको बैठकले नेपालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै फिफाको बन्देज हटेको जानकारी गराएको हो ।
अब एन्फाले फिफाबाट प्राप्त हुने अनुदान तथा आर्थिक सहायता स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछ । यसअघि कन्ट्रोल फन्डिङ अन्तर्गत फिफाले आफ्नै नियन्त्रणमा एन्फाका आर्थिक गतिविधि हेर्ने गरेको थियो ।
एन्फाले यो उपलब्धिलाई अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वमा निर्वाचित कार्यसमितिको सुधारमुखी नीति, पारदर्शिता र सुशासनको सफल परिणामको रूपमा व्याख्या गरेको छ । संघले विगतमा देखिएको भद्रगोल अवस्था अन्त्य गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार लेखा प्रणाली विकास गरेको दाबी गरेको छ ।
फिफाको निर्णयअघि नै एएफसीले सन् २०२४ अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर अन्तर्गत गोल्ड अवार्ड प्रदान गरेको थियो ।
संघले विगतमा संस्थामाथि लागेको आलोचना, पूर्वाग्रह र आरोपलाई 'कामबाट जवाफ दिएको' जनाएको छ।