काठमाडौं । दुग्ध विकास संस्थानले किसानको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी पुनः रोकेको छ । बजारमा दूध र दुग्ध पदार्थको बिक्री कम भएको भन्दै संस्थानले भुक्तानी रोकेको हो ।
त्यस्तै निजी डेरीले पनि किसानको २ अर्ब रुपैयाँ पैसा दिएका छैनन् । सरकारी र निजी डेरीले समेत किसानको भुक्तानी रोक्दा किसान तथा दुग्ध सहकारी समस्यामा परेका छन् ।
दुग्ध विकास संस्थानसँग करिब ७ सय टन धुलो दूध र बटर मौज्दात छ । यसको बजार मूल्य १ अर्ब ३६ करोड रुपैयाँ हुने प्रतिवेदन संस्थानले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेको छ । आन्तरिक वा बाह्य बजारमा दुग्ध पदार्थको बिक्री गर्ने कार्ययोजनामा काम भइरहेको मन्त्रालयका सचिव दीपक खरालले जानकारी दिनुभयो ।
निजीले उद्योगले पनि दुग्धजन्य पदार्थ बिक्री नहुँदा भुक्तानी नियमित गर्न नसकेको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो ।