उडानका क्रममा इन्धन आपूर्ति बन्द हुँदा एअर इन्डियाको विमान दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन

असार २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
उडानका क्रममा इन्धन आपूर्ति बन्द हुँदा एअर इन्डियाको विमान दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन

काठमाडौं । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले एअर इन्डियाको विमानको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जुन १२ को दुर्घटनाको मुख्य कारण उडानको क्रममा इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुनुलाई औंल्याएको छ ।

बोइङ ७८७-८ ड्रिमलाइनर विमानले अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै इन्धन नियन्त्रण स्विचहरू रनबाट कटअफ मोडमा एक सेकेन्डको फरकमा परिवर्तन गरिएका थिए । यसले इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएर विमानले शक्ति गुमाएपछि जमिनमा खसेको थियो । स्विचहरू फेरि उल्ट्याएर इन्जिनहरू फेरि सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

विमानको ब्ल्याक बक्सबाट ४९ घण्टाको उडान डेटा र दुई घण्टाको ककपिट अडियो रेकर्ड भेटिएको छ, जसमा दुर्घटनाको क्षण पनि समावेश छ । इन्धन नियन्त्रण स्विचहरू विमान चालकहरूका सिटको बीचमा थ्रोटल लिभरको पछाडि रहेको हुन्छन् । अनावश्यकरूपमा स्विच नहोस् भनेर तिनीहरू धातुका बार र लकिङ मेकानिजमद्वारा सुरक्षित गरिएका हुन्छन् ।

ती स्विचहरू कस्तो प्रकारले पल्टाइएका थिए भन्ने विषयमा अनुसन्धान जारी छ । उडानका क्याप्टेन ५६ वर्षीय पुरुष थिए जसको उडान अनुभव १५ हजार घण्टाभन्दा बढी थियो भने पहिलो सहचालक ३२ वर्षीय पुरुष थिए जसको अनुभव ३ हजार ४ सय घण्टाभन्दा बढी थियो ।

यो दुर्घटनामा विमानमा सवार र जमिनमा रहेका गरी २ सय ६० जनाको ज्यान गएको थियो । उक्त उडान लन्डनको ग्याटविक विमानस्थलमा बेलुका ६ बजेर २५ मिनेटमा अवतरण हुने तालिकामा थियो । प्रारम्भिक निष्कर्षले दुर्घटनाअघि ककपिटमा भएका क्रियाकलापहरूप्रति गम्भीर प्रश्न उठाएका छन् । तर एअरलाइन पाइलट एसोसिएसन अफ इन्डियाले पाइलटलाई दोषी बनाउने दिशामा अनुसन्धान अघि बढिरहेको भन्दै आपत्ति जनाएको छ । एसोसियसनले अनुसन्धान पारदर्शी बनाउन आफूहरूलाई पर्यवेक्षकका रूपमा समावेश गर्न आग्रह गरेको छ ।