डोल्पाको दुनैदेखि मरिम नाकासम्मको ११० किलोमिटर सडक विस्तार दुई दशकदेखि अलपत्र

चैत्र ३०, २०८१ |सरोज थापा
डोल्पाको दुनैदेखि मरिम नाकासम्मको ११० किलोमिटर सडक विस्तार दुई दशकदेखि अलपत्र

डोल्पा । चीनसँगका नाका सञ्चालन ल्याएर अन्तरदेशीय व्यापार बढाउँदै आर्थिक समृद्धि हासिल गर्ने मुद्दा सरकारको हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा अटाउँछ । तर कार्यान्वयन पक्ष सधैं अधुरै रहन्छ । 

त्यसको एउटा उदाहरण हो डोल्पाको मरिम नाका । सरकारले दुई दशकदेखि यो नाकासम्म सडक सञ्जाल विस्तार गर्ने र दुई छिमेकी मुलुक भारत र चीनलाई जोडेर आर्थिक लाभ उठाउने सपना बााडिरहँदा काम भने अधुरै छ ।

चीनसँग जोडिएकोे मरिम नाका डोल्पालीका लागि समृद्धिको मेरुदण्ड हो । तर सडक सञ्जाल विस्तार नहुँदा यो नाका हाल बन्द छ । डोल्पा सदरमुकाम दुनैदेखि सीमानाका मरिमसम्मको कुल ११० किलोमिटर सडक विस्तार गर्ने जिम्मा भेरी कोरिडोरले लिएको छ । तर निर्माण व्यवसायी र भेरी कोरिडोर आयोजनाको बेवास्ताले गर्दा नाकासम्म सडक पुर्‍याउने योजना सफल भएको छैन । 

सरकारले भारतसँगको नेपालगन्जस्थित जमुनाहा नाकादेखि चीनको मरिमसम्म त्रिदेशीय सडकका रूपमा यो आयोजनालाई अघि सारेको छ । तर घोषणा भएको वर्षौंसम्म पनि सडक नबन्दा स्थानीयलाई चीनबाट दैनिक उपभोग्य सामग्री आयात गर्न र सदरमुकामसम्म आउजाउ गर्न समस्या छ । सामान ल्याउन-लैजान खच्चडकै भर छ ।

दुनैदेखि चीनतर्फको ११० किलोमिटरमध्ये दुनैदेखि लासीक्यापसम्मको २५ किलोमिटर ट्रयाक खोल्न ३ वर्षअघि श्रेया सन्तीदेवी जेभीले ठेक्का लिएको थियो । तर ३ वर्षमा १३ प्रतिशत मात्र ट्र्याक खोलिएको छ । ठेकेदार कम्पनीले भने निर्माण सामग्री अभाव र सुक्खा माटोको कारण देखाउँदै सडक निर्माणमा ढिलाइ भइरहेको बताउँछ ।

सरोकारवाला निकाय र राजनीतिक दलहरूले भने तोकिएको समयमा काम नगरेर ठेकेदार विकासको बाधक बनेको भन्दै ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने माग गरेका छन् ।

चार वर्षभित्र दुनैदेखि लासिकयापसम्म २५ किलोमिटर ट्रयाक खोल्ने गरी १४ करोड ४० लाखमा ठेक्का लागेकोमा सम्झौता सकिन अब ९ महिना बाँकी छ । दुनैदेखि लासिक्याप हुँदै मरिम सडक निर्माण भएमा नाकासम्म आउजाउ गर्न सहज मात्र होइन मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।