जगदुल्ला हाइड्रोलाई तत्काल निर्माण अघि नबढाउन निर्देशन

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जगदुल्ला हाइड्रोलाई तत्काल निर्माण अघि नबढाउन निर्देशन

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई तत्काल निर्माण अघि नबढाउन निर्देशन दिएको छ । लेखा समितिले केही निर्माण कम्पनीले नक्कली कागजात पेश गरी बोलपत्रमा सहभागी भएको भनी गुनासो आएको भन्दै यसबारे स्पष्ट भएपछि मात्र बोलपत्र सम्झौता अघि बढाउन निर्देशन दिएको हो ।

जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको भन्दै छानबिन गर्न लेखा समितिका सदस्यले माग गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । डोल्पाका लाक्पा शेर्पाले राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको भनी दिनुभएको उजुरीमाथि समितिमा भएको छलफलमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले ठेक्का प्रक्रियामा खेलबाड भएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले झुटो तथा जालसाजी गरेर ठेक्का हत्याउन खोजिएको बारे अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

लेखा समितिमा उजुरीकर्ताले डोल्पाको जगदुल्ला हाइड्रोपावरको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड र नेपाली कम्पनी एएनके कन्स्ट्रक्शनले अनुभवको फर्जी कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् । 

ठेक्कामा झुटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसमा छानबिन थालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.