काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले कर्मचारीले काम गरेन, कर्मचारीहरू काम गर्दैनन्, कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा यहाँ धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकाशिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेरौं । प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौं । प्राइभेट सेक्टरको तलब स्केल हेरौं, पब्लिक सेक्टरको तलब स्केल हेरौं, त्यसले खान पुग्छ ? नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजारभन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ ?”
बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाँच्नै समस्या हुने जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताउनुभयो । उहाँले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो ।
“भ्रष्टाचार दुई किसिमको हुन्छ । मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाँच्ने हो कर्मचारीले ? हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ”, उहाँले भन्नुभयो ।