पाल्पा । स्थानीय तहमा गठित कार्यपालिकाले संघीय र प्रदेश सरकारको जस्तै विषयगत समिति गठन गरी आफ्ना कामकारबाहीलाई प्रभावकारी बनाउने अभ्यास गर्दै आएका छन् । सामाजिक, पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, विधायन, सुशासन तथा संस्थागत विकास जस्ता समितिहरू गठन भएका छन् । पाल्पाको तानसेन नगरपालिकामा गठित यस्तै समितिका महिला सदस्यले भने आफूलाई कोरम पुर्याउन मात्रै राखिएको गुनासो गरेका छन् ।
तानसेन नगरपालिकाको कार्यपालिकाका महिला जनप्रतिनिधिले आफूहरूलाई विषयगत समितिको संयोजकको भूमिका माग गरे । यो कुरा दलहरूको नेतृत्वसम्म पनि पुग्यो । तर महिला जनप्रतिनिधिले संयोजक पद पाउन सकेनन् । विषयगत समितिमा रहने जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण छ । उनीहरूले रणनीतिक योजना तर्जुमाको लागि आवश्यक पर्ने तथ्यांक एवं विषय क्षेत्रगत वस्तुस्थित विवरण तयार पार्न, ऐन, कानुन निर्माण गर्न सहयोग गर्दैका छन् ।
समितिमा बसेका महिला जनप्रतिनिधिहरूले विषयगत क्षेत्रमा अपेक्षित उपलब्धि तथा नतिजा खाका तयार पार्ने काम गर्दै आएका छन् । प्रमुख आयोजना तर्जुमा गर्ने लगायत विधेयक निर्माण र अन्य बैठकमा उपस्थिति भई छलफलमा सहभागी हुने गर्छन् । त्यस्ता कतिपय छलफलहरू औपचारिकतामै सीमित हुने गरेको उनीहरूको गुनासो छ ।
समिति सदस्यहरूले राय सुझाव दिने, आफ्ना धारणा राख्ने लगायतको तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने भए पनि त्यस अनुसार बैठक नबस्ने, विधेयकहरूको दफावार छलफल नहुने अनुभव महिला जनप्रतिनिधिको छ ।
आवश्यकता अनुसार समितिका संयोजकले बोलाउने गर्छन् । समितिबाट आएका निष्कर्षलाई अन्तर विषयगत र अन्तर निकाय समन्वय गर्ने भूमिका संयोजकको हो । संयोजकले आवश्यकता अनुसार बैठक बोलाई सम्बन्धित विषयवस्तुमा छलफल गर्ने गरेको पालिका प्रमुखको दाबी छ ।
नीतिगत निर्णय, ऐन, कानून निर्माण, पालिकाको आवधिक योजना तथा विषय क्षेत्रगत रणनीतिक योजना तर्जुमा कार्यका लागि समितिको बैठक बस्नुपर्छ । तर तानसेन मात्र होइन, अधिकांश स्थानीय तहमा समितिको बैठक औपचारिकतामा मात्र सीमित हुने गरेको छ ।