वर्षाले फाइनल खेल रोकिएपछि दाङ र रुपन्देही बने लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेटको संयुक्त विजेता

चैत्र २८, २०८१ |अमर क्षितिज भण्डारी
वर्षाले फाइनल खेल रोकिएपछि दाङ र रुपन्देही बने लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेटको संयुक्त विजेता

दाङ । लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण रोकिएपछि फाइनलमा पुगेका दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको छ । बुधबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देही संयुक्त विजेता बनेका हुन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको उपाधिका लागि दुई टीमबीच लमही–५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । तर, राति हावाहुरीसहितको पानी परेपछि खेल सम्भव हुन सकेन । बिहान घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा फाइनल खेल गर्ने गरी पिच तयारी गर्ने प्रयास भए पनि फेरि पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

संयुक्त विजेता बनेका दाङ र रुपन्देहीले ७५–७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइलनमा पुगेका थिए । चैत २५ गतेदेखि शुरु भएको प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित दाङका तुलबहादुर थापाले १० हजार रुपैयाँ पुरस्कार पाए । यसैगरी, प्रतियोगिताको उत्कृष्ट बलरमा गुल्मीका रामचन्द्र टण्डन छानिए भने उत्कृष्ट ब्याट्समेनमा दाङका तुलबहादुरले बाजी मारे । दुवैले जनही ५ हजार रुपैयाँ पाए ।

प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागिता थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।