काठमाडौं । नेपाल बार एसोशिएशनको २७ औं केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौंस्थित नेपाल बार एसोशिएशनको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो ।
शनिबार भएको निर्वाचनमा देशभरका योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको थियो । ३ वर्षे कार्यकालका लागि २५ सदस्यीय कार्य समिति चयन गर्न सत्तापक्षी नेकपा एमाले निकट पेशागत कानुन व्यवसायी समूह (पीपीएलए) र नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बीच गठबन्धन भएको छ । जसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी निकट कानुन व्यवसायीले समर्थन गरेका छन् । सत्तापक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको यो समूहबाट डीएलएका वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र अध्यक्षका उम्मेदवार हुनुहुन्छ भने एमाले निकट पीपीएलएका केदार कोइराला महासचिवका प्रत्यासी हुनुहुन्छ ।
यसैगरी प्रतिपक्षी समूह नेकपा माओवादी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्ष र रास्वपा निकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार हुनुहुन्छ ।
अध्यक्षमा पाँच र महासचिवमा तीन जनाबीच प्रतिस्पर्धा छ । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जनाबीच प्रतिस्पर्धा छ ।