काठमाडौं । राजावादीहरुले चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म ६७ जना पक्राउ परेका छन् । जुडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाउनेदेखि पत्रकार सुरेश रजकको हत्यामा शंकास्पद देखिएकी एनी कुँवरसम्म कारबाहीको दायरामा आएका छन् । दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शन, तोडफोड, आगजनीदेखि लुटपाट गर्नेहरुको खोजी प्रहरीले अझै जारी राखेको छ ।
चैत १५ गते राजावादीको आन्दोलनका नाममा जडीबुटी चोकमा रहेको ट्राफिक लाइट फुटाउने सिन्धुपाल्चोक बाह्रबिसेका कुमार तामाङ आफ्नो अपराध कर्मबाट एक साता पनि छिप्न सकेनन् । प्रहरीले संकलन गरेको सीसीक्यामराको दृश्यबाट उनै कुमार जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगो लगाउने मुख्य आरोपी भएको पुष्टि भएको छ । उनले प्रशोधन केन्द्रमा लगाउने आगो तयार पारिरहेको देखिन्छ भने कम्पनीभित्र गाडीमा खोजीखोजी आगो लगाउन पनि उनकै संलग्नता देखिएको छ । उनका दुवै हातमा अहिले हत्कडी लागेको छ ।
कुमार मात्रै होइन जडिबुटीकै सवारीसाधनमा आगो लगाउन, सीसीक्यामेरा फुटाउन खटिएका केशव बस्नेत र दिनेश खड्का पनि प्रहरीको नजरबाट उम्किन सकेनन् । आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति र व्यक्तिको नीजि घरमा आगजनी गर्नेहरु सीसीक्यामेरा र सामाजिक सञ्जालमा देखिएका दृष्यका आधारमा एक-एक गरी पक्राउ परिरहेका छन् । राजावादीहरुको आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा आगो लगाउँदै हिड्ने अर्का मुख्य पात्र हुन् सुशील बराल । सीसीक्यामेराले कैद गरेको दृष्यमा पार्किङ गरेर राखिएको सवारी साधनका आगो लगाउनेहरुका नाइके उनै बराल देखिएका छन् ।
प्रहरीको निराशामा अहिले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरुको आन्दोलनका नाममा भएको लुटपाट र तोडफोड गर्नेहरु छन् । तीनकुनेस्थित एक घरमा पत्रकार सुरेश रजगको हत्या गर्ने समूहमा संलग्न रहेको आरोपमा प्रहरी एनी कुँवरलाई पनि पक्राउ गरेको छ । पत्रकार रजक घरभित्रै रहेका बेला कुँवरको गतिविधि शंकास्पद देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुरेश घरभित्र हुँदा विभिन्न निर्देशन दिएको र जलिरहँदा घटनामा संलग्नहरुसँगै बाहिर निस्किएको दृष्य देखिदा उनलाई पक्राउ गर्नुपरेको हो । अहिलेसम्म आगजनी, भाटभटेनी लुटपाट, सञ्चारगृहमा भएको आक्रमणलगायतका घटनामा संलग्नहरुको दृश्य प्रहरीले संकलन गरिसकेको छ । त्यसैका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनी लुटपाट गर्ने ११ र सार्वजनिक तथा निजी सम्पत्तिमा आगो लगाउने चारजनासहित २७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पनि १५ गतेको हिंसात्मक घटनामा संलग्नको खोजी गर्न विशेष टोली नै परिचालन गरेको छ । राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित ६७ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुमध्ये २० जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ भने ४७ जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा हिरासतमा राखिएको छ ।
१५ गतेको घटनामा २० भन्दा बढी घर र ६० वटा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । राजनीतिक आन्दोलनका नाममा अपराध गर्नेहरुले उन्मुक्ति पाउँदैनन् भन्ने स्पष्ट सन्देश दिन पनि तीनकुने घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प छैन ।