काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग पुरा हुने बताउनुभएको छ।
काठमाडौंमा आज 'हिमालयन संवाद' लाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरुको जायज माग पूरा हुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जायज मागका लागि आन्दोलन गर्नुनपर्ने भन्दै वार्तामा आउनसमेत शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।
आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्रमा आन्दोलनमार्फत् आफ्ना माग राख्ने अधिकार भए पनि अनावश्यक आन्दोलन उचित नभएको उहाँले टिप्पणी गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री ओलीले शिक्षकहरुको मागलाई लिएर सम्वन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री र मुख्यसचिव सहभागी थिए ।